जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतमा तरुल खोज्न गएका युवाको सँगैका साथीले गरे हत्या

जन्मभुमि खबर ,
पोखरा ।

पर्वतमा तरुल खोज्न जंगल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । अचेत अवस्थामा जंगलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।