जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नेपालमा पहिलोपटक राइड शेयरिङ एप सञ्चालनमा ल्याएको टुटल कम्पनीका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। टुटलकै अन्य संस्थापक सेयरधनीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भट्टलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी कुमुद ढुंगलले जानकारी दिए ।

शिक्षितले प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपसहित उजुरी परेको बताइएको छ ।

संस्थापक भट्टले टुटलको सेयर बिक्री गरेर त्यसबापतको रकम एक्लै लिएको भन्दै उनका साथीहरुले उजुरी दिएका बताइएको छ। प्रहरीले उजुरीकर्तालाई पनि बोलाएर सामूहिक छलफल गर्ने तयारी भएको जनाएको छ ।

२०७२ सालमा संविधान निर्माणप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमा नाकाबन्दी लगाएपछि राइड शेयरिङ एप टुटल सञ्चालनमा आएको थियो। सुरुमा टुटल मात्रै सञ्चालनमा रहे पनि पछि पठाओ, इन्ड्राइभ लगायत राइड शेयरिङ एप आएका थिए ।

केही समयदेखि निष्क्रिय जस्तै रहेको टुटल पछिल्लो समय भने पुन: सञ्चालनमा आएको थियो ।