जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टाइगर कप भलिबल : एपीएफको दोहोरो जित, गण्डकी र आर्मीको खेल भने लाइट नपुगेपछि बीचैमा रोकियो

जन्मभुमि खबर ,
पोखरा ।

टाइगर कप भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजय सुरुआत गरेको छ।

सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई सोझो सेटमा पाखा लगाएको हो।

पोखरा रगंशालामा भएको खेलमा एपीएफले पुलिस क्लबलाई पहिलो सेटमा २५–१९ को सहज जित निकालेको थियो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले पुलिस क्लबलाई ३३–३१ को संघर्षपुर्ण जित निकाल्यो ।

तेस्रो तथा अन्तिम सेट २५–१७ ले हरायो। जितसँगै एपीएफले ३ अंक जोगेको छ ।

आजै भएको आयोजक गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेल भने रोकिएको छ ।

२ सेट सकिएपछि लाइट नपुगेपछि आर्मी र गण्डकीबीचको खेल चौथो सेटमा पुग्दा रोकिएको हो । दोस्रो सेट सकिदा गण्डकीले दुई सेट आफ्नो पक्षमा पारेको थियो ।

पहिलो सेट २४–२६ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट लगातार आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा गण्डकीले २५–२० र २५–१८ को जित निकालेको थियो ।

गण्डकी र आर्मीबीचको बाँकी खेल समूह चरणका खेल सकिएपछि हुने आयोजकले जनाएको छ ।

आजै भएको महिलातर्फको खेलमा भने नेपाल एपीएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले विजयी सुरुआत गरेका छन् ।

प्रतियोगितामा महिलातर्फ एपीएफ, पुलिस क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह ए मा छन्। समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड र भारतको हरियाणा टोली छन् ।

पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश, साविक विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए मा छन्। समूह बी मा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम छन् ।

समूहको विजेता र उपविजेता टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन् ।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फका विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।