जन्मभुमि खबर ,
पोखरा ।
क्रिकेटर सन्दीप लामिछानेमाथि मुद्दा दायर गरेर चर्चामा आइन् गौशाला २६ (प्रहरीले दिएको नाम) । उनको वास्तविक नाम र पहिचान भने लामो समयसम्म गोप्य रहेको थियो ।
बलात्कारका मुद्दा दायर गर्ने जाहेरीकर्ताको वास्तवित नाम र पहिचान सामान्यतया प्रहरीले सार्वजनिक गर्दैन । पहिचान खुलाउँदा उनीहरु सामाजमा मुख देखाएर हिँड्न सक्दैनन् भन्ने परम्परागत भाष्य तथा कानूनी व्यवस्थाका कारण नाम लुकाउने अभ्यास गरिएको हो । यद्यपि, आरोपीको पहिचान खुलाउने र जाहेरीकर्ताको लुकाउने अभ्यास सान्दर्भिक हो वा होइन भन्नेबारे बहसहरु जारी छन् ।
यसैबीच पछिल्ला केही दिनदेखि गौशालाको तस्बिरहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । उनको इन्टाग्राम पेजबाट पुरानो तस्विर निकालेर कसैले सामाजिक सञ्जालमा पोस्ट गरेपछि पहिचान सार्वजनिक भएको हो ।
यसअघि पनि उनको भन्दै तस्बिर भाइरल भएको थियो । तर, अहिले वास्तविक तस्बिर नै सार्वजनिक भएपछि उनी प्रहरीमा पुगेकी छन् । उनले आज साइबर ब्यूरो पुगेर उजुरी हालिन् ।
ब्युरोका प्रवक्ता पशुपति रायले उजुरी आएको र छानबिन भइरहेको बताए ।
‘गोपनियता हनन् सम्बन्धी मुद्धा सोझै अदालतमा पनि दर्ता गर्न सकिन्छ, अहिले हामीले पनि हेरिरहेका छौँ,’ एसपी रायले भने ।
गौशाला-२६ को तस्बिर बाहिर ल्याएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना एक कार्यकर्तालाई कारबाही गरेको छ ।
पीडितले व्युरोमा उजुरी दिएपछि तस्बिर हाल्नेहरूको खोजीकार्य सुरू गरेको व्युरोका प्रवक्ता एसपी पशुपति रायले बताए । ‘व्युरोमा पीडितले उजुरी दिनुभएको छ। तस्बिर हाल्नेहरूको खोजीकार्य गर्दैछौं,’ एसपी रायले भने।