जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा गठबन्धन दलले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
यसअघि नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । गण्डकीमा अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन क्लस्टरमा निर्वाचन हुनेछ ।
गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।