जन्मभुमि खबर ,
पोखरा ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिब ३० हजारले अवलोकन गरेका छन्।
कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन नारा सहित शुक्रबारदेखि पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी मेलाको आइतबार बेलुका एक कार्यक्रमबिच समापन गरिएको हो। कार्यक्रम सोचे जतिकै भव्य भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।
“हामीले कृषि यान्त्रीकरणको प्रबर्द्धन गर्ने उद्देश्य सहित हरेक दुई वर्षमा गर्दै आएको यो प्रदर्शनी पहिलो पटक प्रदेशस्तरमा गरिएको छ,” समापन कार्यक्रममा बोल्दै उनले भने, “सरकारी तथा गैर सरकारी क्षेत्र सबैको साथ, व्यापारी र अवलोकनकर्ता सबैको भव्य र उत्साहपूर्ण सहभागिताले हाम्रो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।”
तीन दिनमा कुल ५५ लाख बढीको मेसिनरी किनबेच प्रत्यक्ष कारोबार भएको तथा ६ करोडको बुकिङ भएको नामियाका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।
पोखरामा सम्पन्न मेसिनरी प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा साथ दिएका थिए।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आवश्यकता अनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कृषि भनेको कहिले पनि नहराउने पेशा भएका कारण यसलाई विकास गर्नका निम्ति निरन्तर काम गरिरहनु पर्ने उनले बताएका थिए ।