जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

इमेज सहकारीका कोषाध्यक्ष पक्राउ , अध्यक्ष मेयर देवकुमार र उनकी श्रीमतीविरूद्ध रेड कर्नर नोटिस

जन्मभुमि खबर ,
पोखरा ।

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट बिहीबार पक्राउ पक्राउ गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार छन् । उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते पक्राउ गर्नका लागि अनुमति दिएको थियो ।

त्यसै अनुसार सहकारीका संचालक समितिका अध्यक्ष नेपालीसमेत आठ जनालाई खोजतलास गर्ने क्रममा सुनारलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार २७ वर्षका सुनार बागलुङको निसीखोला गाँउपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।