जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रबेश

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा गोल्ड कपमा आज भएको खेलमा मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रबेश गरेको छ ।

तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले हराउदै अन्तिम आठमा प्रबेश गरेको हो ।

पोखरा रंगशालाको फुटबल स्टेडियममा भएको खेलमा ३७ औ मिनेटमा जावलाखेलका लागि हिसुब थपलियाले निणार्यक गोल गरे ।

विपक्षी टिमका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले गोल गरेका थिए । जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दी सगँ खेल्ने छ ।

मच्छिन्द्र र जावलाखेल बीच आहा रारा पोखरा गोल्डकपमा यो पहिलो आमने सामने भएका हुन् । यसअघि मच्छिन्द्रले ५ पटक सहभागिता जनाएको थियो भने जावलाखेल युथ क्लबले ३ पटक सहभागीता जनाएको थियो ।

भोलि शुक्रबारको खेल नेपाल ए पी एफ फुटबल क्लब र नेपाल फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

= विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५ /५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

सहारा क्लबले फुटबल टुर्नामेण्टबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई पोखरा महानगरले कार्यपालिकाबाटै निर्णय गरेर संरक्षकत्व दिएको छ । सहाराले विभिन्न देशमा शाखा खोलेको छ । उनीहरूकै सहयोगबाट प्रतियोगिता चल्दै आएको छ । एन्फाले प्रतियोगिता चलाउन मैदान निःशुल्क दिएको छ ।