जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखी पोखरा रंगशालामा २३ औं संस्करणको आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता

जन्मभुमि खबर ,
पोखरा ।

आजदेखी पोखरा रंगशालामा २३ औं संस्करणको आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ। सहारा क्लब पोखराको आयोजनामा माघ २० गतेसम्म चल्नेछ ।

प्रतियोगिता आज दिउँसो २ बजे पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले उद्घाटन गर्ने भएका छन । आजको खेल आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लब आमनेसामने हुँदै छन् ।

क्लब अध्यक्ष केशवराज बरालका अनुसार क्लबद्वारा सञ्चालित एकेडेमीबाट उत्पादित खेलाडीको बाहुल्यता रहेको आयोजक सहाराको टिममा अधिकांश युवा खेलाडी छन् । विदेशी खेलाडी रहेको थ्रीस्टार बलियो टिम मानिन्छ। यद्वपी थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिगमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन ।

प्रतियोगिता अन्तर्गत माघ १० गते नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्ध राईजिङ स्टार फुटबल क्लब, माघ ११ गते मच्छिन्द्र क्लबविरुद्ध जाउलाखेल यूथ क्लब र माघ १२ गते सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरुद्ध नेपाल पुलिस क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगितामा माघ १३ गतेदेखि १६ गतेसम्म क्वाटरफाइनल खेलहरु सञ्चालन हुनेछन् भने माघ १७ र १८ गते सेमिफाइनल तथा माघ २० गते फाइनल खेल हुने उनले बताए। प्रतियोगितामा यस वर्ष एक विदेशी, तीन विभागीयसहित नौ ए डिभिजन क्लब, आयोजक र मोफसलको एक गरेर १२ टिम सहभागी हुने आयोजकले बताएको छ।

प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तथा ए डिभिजन क्लबहरू जाउलाखेल यूथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब र चर्च व्वाईज युनाइटेड फुटबल क्लब सहभागी हुँदै छन्।

प्रतियोगितामा यसअघि दुई विदेशी टिम आउने भनिएपनि अन्ततः एक टिममात्र सहभागी हुने भएको छ। प्रतियोगितामा यस वर्ष पारो फुटबल क्लब भुटानले सहभागिता जनाउँदै छ।

दिल्ली फुटबल क्लब आउने भनिएपनि अन्तिम समयमा सो क्लबले आउन नसक्ने जानकारी गराएको क्लबका अध्यक्ष बरालले जानकारी दिए। पारो फुटबल क्लब भुटानको प्रिमियर लिग च्याम्पियन क्लब भएको आयोजक सहारा क्लबको दाबी छ।

गोल्डकपको उपाधि विजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उप-विजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी र नगद पुरस्कार पनि दिइने उनले बताए ।

= विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५ /५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

सहारा क्लबले फुटबल टुर्नामेण्टबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई पोखरा महानगरले कार्यपालिकाबाटै निर्णय गरेर संरक्षकत्व दिएको छ । सहाराले विभिन्न देशमा शाखा खोलेको छ । उनीहरूकै सहयोगबाट प्रतियोगिता चल्दै आएको छ । एन्फाले प्रतियोगिता चलाउन मैदान निःशुल्क दिएको छ ।