जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अघिल्लो पटक मैले आवेशवश ‘पर्सनल अट्याक’ गरेको छु, क्षमा चाहन्छुः रवि लामिछाने

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशवश ‘पर्सनल अट्याक’ गर्न पुगेको बताएका छन्।

नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए।

सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताए।

‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो । तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईंहरूलाई घाटा हुने भयो र अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु। त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने।

सभापति लामिछानेले जिबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।

उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए।

आफ्नो खातामा कसैले १ करोड ८० लाखको चेक जम्मा गरेको तर पैसा नआएको बताएका हुन्।

‘सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी) मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ’, बैंकको पत्र देखाउँदै उनले भने।

पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गरे। उनले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गरे।