जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने ९ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ रहेका छन्।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये गौरव तामाङ २ पटक र मनोज खत्री तथा विनोदकुकमार कार्की ३/३ पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।

थलीस्थित भरत थापाको घर भाडामा लिई बसेका विनोदकुमार कार्कीको कोठामा खानतलासी गर्दा खुकुरी रम, गोल्डे ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक जस्ता मदिरा बनाउन प्रयोग हुने सामानहरु समेत प्रहरीले बरामद गरेको छ।

उनीहरुको साथबाट चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कको स्टिकरहरु लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।