जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित

जन्मभुमि खबर ,
पोखरा ।

एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन्। अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए।

नेपालले १९औं ओभरमा लगातार दुई विकेट गुमायो। १८.३ ओभरमा उत्तम मगर ४ रनमा र दुई बलपछि आकाश त्रिपाठी शून्यमा आउट भए। दुवैलाई अफगानिस्तानका मारूखीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै गुल्सन झा १७ र दिपेश कँडेल ११ रनमा आउट भए भने यस्तै सुवास भण्डारी ८ र हेमन्त धामी शून्यमा पेभिलियन फर्के।

त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भए। उनले ३७ बल खेल्दा १ चौका प्रहार गरे।

नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको थियो। ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए। यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए। उनी पनि फारुदूनकै बलमा आउट भए।

बलिङमा अफगानिस्तानका फारुदून र मारूखीले ३-३ विकेट लिए।

आइतबार दुबईको आइसिसी ओभल-२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रन जोड्यो।

अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे। अन्तिम ओभरमा रिटायर्ड हुनुअघि उनले १०६ रन जोडे। उनले १५२ बलमा ८ चौका प्रहार गरे।

जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए। सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए।२८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे।

रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो।

अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए।

त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए।

दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २-२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १- १ विकेट हात पारे।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

अब नेपालले समूहको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।

दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन् ।