जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१९ औं लेखनाथ महोत्सव पुस ५ गतेदेखि

जन्मभुमि खबर ,
पोखरा ।

१९ औं लेखनाथ महोत्सव पुस ५ गतेदेखि सुरु हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सव पुस १६ गते सम्म चल्ने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मुल नारासहित हुन लागेको महोत्सव पोखरा २७ तालचोक, डाँडाको नाकमा सञ्चालन हुने आयोजकले बताएको छ ।

महोत्सवमा ३३४ स्टल रहने आयोजकले जनाएको छ । महोत्सवको लागि हाल सम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् लेखनाथ महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए ।

लेउवा संघका सदस्यहरुलाई प्राथमिकता दिई १० प्रतिशत छुटसहित यातायात बापत २ हजार नगदसहित मंसिर ६ गतेदेखि नै स्टल बुकिङ खुल्ला गरिएको र संघका करिब १३० सदस्यहरुद्धारा स्टल बुकिङ भइसकेको छ । अन्य सर्वसाधारण व्यवसायीका लागि मंसिर १२ गतेदेखि स्टल बुकिङ खुल्ला भएको छ ।

महोत्सवमा विशेष कार्यक्रमहरु समावेश गरिने भएको छ । कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम, महिला विशेष तथा रितिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम हुने भएको छ ।

लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा-महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुष प्रर्दशनी गरिने भएको छ ।

ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट महोत्सवको मुख्य आर्कषणमा रहेको छ । पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रर्दशनी,हस्तकला प्रर्दशनी, बाल उद्यान र खाना महोत्सव पनि हुने भएको छ ।

मेलामा जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा, लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरुका लागि संघको सदस्यता परिचय पत्रका आधारमा, पत्रकारहरुका लागि सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालनलाई व्यवस्थित बनाउनका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ । २ लाख ५० हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब ९० लाख बरावरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रर्वद्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्वद्धन र जगेर्ना गर्नेे महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवबाट हुने आम्दानीको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासमा खर्च हुने भएको छ ।

यस्तै बेगनासतालमा बराह मन्दिर संरक्षण, कोशेली घर निर्माण,बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण गर्ने भएको छ ।