जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी : कास्की प्रहरी द्वारा जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

जन्मभुमि खबर ,
पोखरा ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरीले पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए। कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो।

पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको हो।

इन्टरपोल शाखाले यस विषयमा अध्ययन गरिरहेको स्रोतले बतायो। जसअनुसार अपुग भएका थप कागजात/ विवरण मगाउने तयारी भइरहेको छ।

सबै प्रक्रिया पुगिसकेपछि उक्त शाखाले इन्टरपोललाई अनुरोध गर्छ। अनुरोध गरेपछि इन्टरपोलकै अधिकारीहरूले अध्ययन गरी कैफियत देखिएमा थप विवरण माग्न सक्ने र त्यसपछि नोटिस जारी गर्ने स्रोतले बतायो।

यस मुद्दामा जिबी राई सहित १८ जना फरार छन्। उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए। अन्य फरार भएका हुन्।

जिबी राई ग्यालेक्सी फोर-केका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ। त्यसबाहेक पनि उजुरी आउनेक्रम जारी नै रहेको प्रहरीले जनाएको छ।