जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

जन्मभुमि खबर ,
पोखरा ।

नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि फेरि सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ ।

अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

कानुन अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।

३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ । उक्त पेशीमा सन्दीपले न्यूनतम ७ वर्ष र अधिकतम १० वर्ष सजाय पाउनेछन् ।

सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले जेल नजाँदै पुनरावदन गर्न सक्नेछन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउँछन् ।

पूर्णपाठ आएको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान छ । २५ गतेकाे पेशीमा सजाय निर्धारण गरेपछि फैसलाकाे पूर्णपाठ तयार गरिन्छ । उक्त पूर्णपाठ सन्दीपले बुझेकाे ७० दिनभित्र उनले पुनरावेदन गर्न सक्छन् ।

पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन । उच्च अदालतले उनलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला लागू हुनेछैन ।