जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सञ्चालक फरार भएपछि बन्द भयो ग्यालेक्सी टेलिभिजन

जन्मभुमि खबर ,
पोखरा ।

ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ ।

गत पुस १ गतेदेखि कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम रोकेका हुन् ।

ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब पाएका थिएनन् ।

‘टेलिभिजनमा समाचारहरू सबै रोकिएको छ। लाइभ कार्यक्रम र प्रोड्क्सन सबै रोकिएको छ’, एक पत्रकारले भने, ‘पुराना रेकर्डिङ र गीत मात्र बजिराखेको छ ।’

पत्रकार र कर्मचारीहरुले अहिले पनि कार्यालय पुगेर हाजिरी भने गर्ने गरेका छन् ।

‘तलब होल्ड भएको ६/७ महिना भएको थियो, दसैं तिहारका बेला १५ दिन, एक महिनाको समयको भाका लगाएका थिए। त्यसपछि उनीहरुले मंसिर अन्तिमसम्म हुन्छ भनेका थिए’, ती पत्रकारले भने, ‘अहिले कर्मचारीहरूले नै तलब आउँदैन भने काम नगर्ने भनेर रोकेका हुन् ।’

ग्यालेक्सी टिभीका सञ्चालक तथा अध्यक्ष जिबी राई लामो समयदेखि फरार छन्। अर्का सञ्चालक कुमार रम्तेल जेलमा छन् ।

‘व्यवस्थापनका को मान्छेसँग कुराकानी गर्ने भन्ने पनि भएन । मार्केटिङका मान्छेहरू थिए। उनीहरुले पनि ठोस कुरा गर्ने ठाउँ छैन’, ती पत्रकारले भने, ‘एक जना फरार छन्, अर्को जेलमा छन्। जेलमा भएका रम्तेलले म सबै प्रक्रिया टुङ्ग्याएर माग सम्बोधन गर्छु भनेका छन् भन्ने सूचना छ। तर सबै कर्मचारीले बाँकी तलब नै धेरै भएकाले त्यो समस्या समाधान नगरी काम नगर्ने भनेर रोकिएको हो ।’

पछिल्लो समय टेलिभिजनको कार्यकारी प्रमुखका रुपमा भूमि खतिवडाले काम गरेकी थिइन्। ‘मैले आर्थिक सहयोग पाएँ भने मात्र समस्या समाधान गर्न सक्छु, नत्र सक्दिनँ भनेर उहाँले भन्नुभएको रहेछ’, ती पत्रकारले भने।