जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङमा सामूहिक भोजपछि एकजनाको मृत्यु, १८ जना अस्पताल भर्ना

जन्मभुमि खबर ,
पोखरा ।

लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् ।

सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ । भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ ।

शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ । अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ ।

भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताइएको छ ।

भोजमा ४० जना सहभागी थिए ।