जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु , चार नेपाली युक्रेनमा बन्धक (नामावलीसहित)

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को निधन भएको जनाएको छ।

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसका राजदूत मार्फत पुनःअनुरोध गरिएको पनि विज्ञप्तिमा जनाएको छ।

रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन् ।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीको लागि इन्टरनेसनल कमिटी अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयको भनाई छ ।