जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राख्न आदेश

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।

सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन् ।

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन् ।

रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए ।

उनले भनेका थिए, “पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू ।”

तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो । खोया फालिसकेपछि सन्तोषमाथि रास्वपाकै कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिटसमेत गरेका थिए ।

उजुरी नपरे पनि घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न लागेको हो ।

रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै पोखरा घटनाबारे प्रतिक्रिया जनाएको छ । प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उद्धृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।”

तर, केही मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप छ ।

सम्बन्धित समाचारहरु

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एकजना पक्राउ

 

पोखरामा रवि लामिछानेलाई खाेयाले हान्ने व्यक्ति काे हुन् त ?