जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कामबाट असन्तुष्ट दिपक मनाङे

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एसियाकै ठूलो ठग फार्म मनाङ स्थित एग्रो फार्म भएको आरोप लगाएका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले स्कुल र सार्वजनिक जग्गा मिचेर एउटै व्यक्तिको हालीमुहाली चलिरहेको उल्लेख गरे । उक्त एग्रो फार्म पूर्व सांसद पोल्देन छोपाङको हो । २०७० ज्येष्ठ २३ गते कम्पनि रजिष्टारको कार्यालयमा दर्ता भएर संचालनमा रहेको एग्रो फार्मले खुलेआम ठगी धन्दा गरिरहेको उनले बताए ।

मनाङले बिजुलीको समस्या भएर आफु मनाङमा पुगेको र त्यहाँ पुग्दा एग्रो मनाङका संचालकहरुले बिजुलीको पोल गाड्न नदिएको पाइएको बताए । वन नै फडानी गरी एग्रो संचालन गर्दा स्थानीयले सास्ती खेप्नुपरेको भनाई उनको छ । अवैध रुपमा रुख काटी वनजंगल विनास गरी एग्रो संचालन गरिरहेको पाएपछि आफु एक्सनमा उत्रिएको मनाङले बताए ।

‘हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर संचालन, स्याउ विशेष कार्यक्रम, फलफूल विस्तार जस्ता धेरै शीर्षकबाट केन्द्र देखि स्थानीइ तहबाट करोडौं रुपैयाँ लिइसकेको प्रमाण म सँग छ’, उनले भने, ‘बैङ्क तथा वित्तिय संस्थाबाट समेत करोडौं रुपैयाँ सहुलियत ऋण लिएर एग्रो फार्म अवैध रुपमा संचालन भएको छ ।’

उनले एग्रो मनाङ प्रालिले ७ सय २४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको आरोप लगाएका छन् ।

तत्कालिन पिसाङ, घ्यारु, ङावल, भ्राका, टङ्की, खाङ्सार गरी सात गाविसका नाममा जिल्ला मालपोत कार्यालय, मनाङमा दर्ता भई उक्त जग्गा हाल मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत पर्ने उनले उल्लेख गरे । स्वामित्व नै कसको हो भन्ने नखुलेको जग्गामा एग्रो मनाङ प्रालि दर्ता भई व्यवसाय संचालन हुनु कतिसम्मको वैधानिक हो ? उनले प्रश्न गरेका छन् ।

‘सात गाउँका मान्छेहरुले सहिछाप गरि काठमाडौं, स्वयम्भुमा मनाङबाट पुगेर बसोबास गरेका मनाङेहरु मिलेर गठन गरेको मनाङ सेवा समितिलाई उक्त जग्गाको स्वामित्व हस्तान्तरण गरेको देखिन्छ’, उनले भने, ‘यो अवैधानिक छ । जो जसले सहिछाप गरेका छन्, उनीहरु अख्तियार प्राप्त व्यक्ति होइनन् ।’

उनले संस्थाको विषयमा चेकजाँच नै नगरि हचुवाको भरमा अनुदान बाँडिनु गलत भएको बताए । एसियाकै ठुलो फार्म भनेर चर्चा चलाएकै भरमा पहुँचका आधारमा अनुदान बाँड्नु राम्रो नभएको उनले उल्लेख गरे । मनाङेका अनुसार फार्मले करिब ८० रोपनी जग्गामा अवैध रुखहरु फडानी गरेको छ । यतिमात्र नभई पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना समेत खोलिएको उनले बताए ।

मनाङेले घटनाका विषयमा आफुलाई भर्खरै मात्र जानकारी भएको र स्रोत दुरुपयोग भएको अख्तियारमा समेत उजुरी गरेको सुनाए । ‘एग्रो फार्मको अवैध धन्दाका विषयमा सबै प्रमाण जुटाएर नै मिडियामा आएको हुँ । म सँग उपलब्ध तथ्य र प्रमाणको एकएक प्रति बोधार्थ सरोकारवाला निकायहरुमा बुझाई सकेको छु ।’, उनले भने ।

फरक प्रसंगमा मनाङेले आफु पदका लागि राजनीतिमा नआएको बताए । पद भन्दा पनि बजेटको आवश्यकता भएको उनले उल्लेख गरेका छन् । मनाङको विकासका लागि बजेट भए आफुलाई पुग्ने पद नचाहिने अभिव्यक्ति उनको छ । उनले प्रदेश मन्त्री भन्दा बढी काम वडाध्यक्ष भएको बताउँदै मन्त्रीकै लोभ आफुलाई नभएको उल्लेख गरे ।

मनाङे अहिलेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कामबाट असन्तुष्ट देखिए । ‘अहिलेका मुख्यमन्त्रीले केही गर्न सक्नुभएन । उद्घाटन गर्ने र भाषण गर्ने बाहेक अरु काम भएकै छैन ।’, उनले भने । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र किरण गुरुङ अर्थमन्त्री हुँदा धेरै काम भएको भनाई उनको छ ।