जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मधेश प्रदेशले उचाल्यो केपी ओली कप टी-२० क्रिकेट को उपाधि

जन्मभुमि खबर ,
पोखरा ।

केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो ।

मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि आर्मीलाई २४ रन चाहिदा विवेक यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिएका थिए ।

तर त्यसपछिका तीन बलमा आर्मीका सोमपाल कामीले मधेशका रुपेश सिंहको बलमा एक रन मात्र जोड्न सके।

सोमपालले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए ।

त्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए । आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा मधेशका कप्तान हरिशंकर साहले ४ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चिए । प्रदीप पासवानले २ विकेट लिए भने पार्थिक यादवले १ विकेट लिन सफल भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा १३५ रन जोड्यो ।

मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए ।

मधेशका अरु ब्याटर दोहोरो अंकमा रन नजोडि आउट भए ।

बलिङमा आर्मीका विवेक यादव र शाहव आलामले ३-३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिन सफल भए ।