जन्मभुमि खबर ,
पोखरा ।
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताए ।
भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
“अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,” उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।”
उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।
उनले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको पनि बताए ।
उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाले नयाँ भेरियन्टको संक्रमणको रोकथाम खोपले गर्ने बताए ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।