पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आजदेखि
जन्मभुमि खवर,
पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आजदेखी सुरू हुँदैछ ।
पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।
भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।
एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३÷३ हजार, त्यसपछिका ११ जनाले २÷२ हजार र बाँकी ११ जनाले १÷१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट÷तौल समुहमा एक÷एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ । एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।
पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आइतबार बिहान १० बजे गर्ने छन् । प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएको र यो प्रतियोगिताले राम्रा खेलाडीको पहिचानमा सहयोग पुग्ने बताए । उनले प्रदेशभरका पालिकामध्ये गत वर्ष पोखरा महानगरपालिकाको टिम उत्कृष्ट बनेको र त्यसलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । गत वर्ष फागुनमा भएको कास्की जिल्लास्तरीय रनिङ शिल्डमा पोखरा २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको थियो । पछि त्यहाँबाट छनोट भएका खेलाडी सहभागी भएर बनेको कास्कीको टिम प्रदेशस्तरीय रनिङ शिल्ड च्याम्पियन बनेको थियो ।
महानगरका शिक्षा अधिकृत सोम सुवेदीले निजीभन्दा पनि पोखराका सरकारी विद्यालयको प्रदर्शन सुधारिँदो रहेको सुनाए । उनले शिक्षासँगै खेल आवश्यक रहेकाले त्यसमा महानगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म लगानी गरिरहेको बताए ।
गत वर्षको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य गरेर १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक गरेर सैनिक द्वितीय र शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर तृतीय भएको थियो ।