जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पर्यटन बसपार्कको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको पर्यटन बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ । उपत्यका नगर विकास समिति मातहत रहेको उक्त बसपार्क सञ्चालन गर्न समितिले टेन्डर निकालेको थियो । एवान कन्स्ट्रक्सनले १ वर्षका लागि ३७ लाख ३० हजारमा ठेक्का लिएको हो । सम्झौता हुन बाँकी छ ।

त्यहाँको पार्किङ ठेक्का मात्रै एवानले पाएको समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार गुरुङले जानकारी दिए । यहाँ पर्यटक बसहरु मात्रै बास बस्छन् । यस्तै, समितिले बसपार्क भित्र रहेका सटरहरु पनि निजी कम्पनीलाई दिएको छ ।

मासिक २ लाख २४ हजार भाडा पाउने गरी ठेक्का दिइएको हो । प्रत्येक सटरको १६ हजार ५ सय देखि ४३ हजार १ सय सम्म भाडा लिने गरिएको छ । सटरको व्यवस्थापनको सम्झौता भने यसअघि नै भैसकेको छ ।

१८ रोपनीमा फैलिएको सो बसपार्क सुविधासम्पन्न छ । बसपार्क आशीष सिएम मिसन जेभी नामक निर्माण कम्पनीले बनाएको हो । यहाँबाट ४० पर्यटकवाहक बस आवतजावत गर्न सक्नेछन् । १० माइक्रो बस, २० ट्याक्सी पार्किङ गर्ने स्थल र केही कारसमेत राख्ने स्थल छ ।

बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबैतर्फ १ सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन निर्मित छ । बसपार्कमा व्यवस्थित शौचालय छ भने चमेनागृह लगायतका प्रयोजनका लागि भवन निर्मित छ । यहाँबाट दैनिक देशका विभिन्न सहरमा पर्यटकीयस्तरका सवारीसाधनहरु छुट्ने गर्दछन् ।