जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका नगर प्रहरीमाथि हातपात गर्ने रेनुका स्टोरका व्यापारी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नगर प्रहरीमाथि हातपात गरेको आरोपमा महेन्द्रपुलको गोविन्दप्रसाद घिमिरेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिकाले नगर प्रहरी लगाएर सडक पेटी र फुटपाथमा राखिएका सरसामान हटाउने अभियान चलाएको छ ।

त्यस अभियानको अनुगमनमा जाँदा महानगरपालिकाको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापामाथि घिमिरेले हातपात गरेको आरोप छ । घिमिरेका विरुद्ध महानगरपालिकाले नै उजुरी नै गरेपछि कास्की प्रहरीले उनलाई पक्रेको हो ।

आईतवार दिउँसाे अन्दाजी १:३० वजे पाेखरा ४ महेन्द्रपुल स्थित सार्वजनिक स्थानमा सडक पेटीमा रहेका व्यापारिक प्रयोजनको सामाग्रीहरु हटाउने क्रममा पोखरा महानगरका प्रहरी निरीक्षक पुरुषोत्तम थापालाई अभद्र व्यवहार गर्ने पाेखरा ४ गैह्रापाटन वस्ने रेनुका स्टोरका सञ्चालक ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

घिमिरेले सडकपेटी फुटपाथमै सामान राखेर बिक्री गरिरहेको त्यसलाई हटाउन पटकपटक आग्रह गर्दा शुक्रबार पनि उस्तै अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक थापाले सुनाए ।

‘पटकपटकको अनुरोध अटेर गरेपछि फुटपाथका सामान नगर प्रहरीले नियन्त्रणमा लिएका थियौं,’ थापाले भने, ‘त्यसो गर्दा उहाँ (घिमिरे) ले हाम्रा साथीहरुसँग झगडा गर्नुभयो । म गाडीभित्र थिएँ, एक्कासि आएर अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडी मै आएर हातपात गर्नुभयोममाथि नै हातपात गर्नुभयो ।’

पक्राउ परेका घिमिरेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता बिरुद्धको कसुर (अभद्र व्यवहार) मा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।