जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पल शाह विरुद्ध पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

जन्मभुमि खबर ,
पोखरा ।

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो ।

उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो ।

उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र  नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्‍याएर हेर्ने भएको हो ।

‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।

नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने गरी गरेको फैसलाविरूद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो ।

शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो ।

उक्त फैसलाविरूद्ध पलले पनि निवदेन दिएका थिए। दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पल शाहलाई पूर्ण सफाइ दिएको थियो ।

शाहले म्युजिक सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। त्यही आधार देखाएर उच्च अदालतले सफाइ दिएको हो ।

बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले पनि सफाइ दिइसकेको छ ।