जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निस्सिमको मृत्युपछि बाबुको वेदना : ‘दर्जनौं पटक दुर्घटनास्थल पुगेँ, मनै मान्दैन’,

जन्मभुमि खबर ,
पोखरा ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा ज्यान गुमाएका खेलाडी निस्सिम थापाको परिवारले आयोजकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै छानबिनको माग गरेको छ ।

निस्सिम थापा फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरी छानबिनको माग गरेको हो। गत वर्षको असोज ३० गते सराङकोटमा प्याराग्लाइडिङ प्रतियोगितामा प्यारासुट पूरा नखुलेपछि आकाशबाट खेसेर उनको ज्यान गएको थियो। आयोजकको गम्भीर लापरबाहीले दुर्घटना भएको र त्यसको उचित छानबिन गरी आयोजकलाई कारबाही गर्नुपर्ने परिवारको माग छ ।

गोरखाको पालुङटार स्थायी घर भएका २६ वर्षीय थापा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट भाग लिएका थिए । दुर्घटना लगत्तै उक्त इभेन्ट स्थगित भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष एवम् निस्सिमका बुवा प्रकाश थापाले नागरिक उड्डयन प्राधिकरणको अनुमति बिनै प्रतियोगिता सञ्चालन गरिएको, टेकअफ जोनमा निर्माणाधीन जोखिमयुक्त संरचना रहेको र प्रतियोगिता सञ्चालन गर्न सक्ने दक्ष प्राविधिक नभएको आरोप लगाए ।

‘दर्जनौं पटक निस्सिम खसेको ठाउँमा पुगेर घन्टौं बिताएको छु । त्यो ठाउँ हेर्छु र खेलको तयारी सम्झिन्छु । मनै मान्दैन,’ प्रकाश भन्छन्, ‘प्याराग्लाडिङको टेक अप नजिकै भवन बनिरहेको छ र त्यहाँ आकासतिर फर्किएका तीखा रडहरु थिए । त्यही निर्माणाधीन भवनकै रडमा परेर निस्सिमले ज्यान गुमायो ।’

उनी पोखराको पृथ्वीनारायण क्याम्पस एमए समाजशास्त्रमा दोस्रो वर्षका विद्यार्थी थिए । उनी थापा परिवारको एक्लो छोरा थिए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रङ्गशालामा स्वर्गीय निस्सिम थापाको सालिक निर्माण गरिरहेको छ ।