जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँका बेपत्ता युवक खोज्न सेती बाँध खोलियो, साँझसम्म सतर्कता अपनाउन आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बेपत्ता एक युवकको खोजीका लागि पोखरा १६ मा रहेको सेती नदी बाँध खोेलिएको छ । तनहुँका१९ वर्षीय संगम मिश्र २५ गतेदेखि मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले युवकको खोजीका खोलिएको बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए ।

‘अहिले उहाँको खोजी कार्य प्रहरीले गरिरहेको छ । साँझ ४ बजेसम्म बाँध खोल्ने भनेका छौं,’ उनले भने ।

बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएकोबेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ ।

ड्याम खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ ।

कास्की प्रहरीको सूचना

पोखरा मणिपालमा उपचार गराइरहेका तनहुँका बिरामी युवक बेपत्ता