जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गौतम बुद्ध विमानस्थल सञ्चालनको माग गर्दै पोखरेली व्यवसायीको धर्ना

जन्मभुमि खबर ,
पोखरा ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल पूर्ण सञ्चालनको मागसहित सिद्धार्थ सञ्जाल आन्दोलित छ । उक्त सञ्जालले गत मङ्सिर २२ देखि दबाबमूलक र्याली र विरोध कार्यक्रम गरिरहेको छ ।

उनीहरुको आन्दोलनमा पोखरेली व्यवसायीहरूले पनि ऐक्यबद्धता जनाएका छन् । पोखरा घुम्ने निम्तो बाँड्न पश्चिमी शहरतिर लागेको उक्त टोलीले भैरहवामा गरिएको प्रदर्शनमा ऐक्यबद्धता जनाएको हो ।

होटल सङ्घको आयोजनामा गएको टोलीले जनदबाब सिर्जना गर्न ऐक्यबद्धता जनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । विमानस्थल पूर्ण सञ्चालनका लागि गरिएको आन्दोलनमा पोखराका व्यवसायीको पनि समर्थन जनाइएको उनको भनाई छ ।

‘भैरहवाको विमानस्थल चल्नु पोखराको लागि पनि फाइदा हो,’ उनले भने, ‘पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन दुईतर्फी आन्दोलन आवश्यक छ ।’ ठुलो लगानीमा विमानस्थल बनाएर सञ्चालन नै नगर्नु दुःखद भएको उनको भनाई छ ।

सरकारले कूटनीतिक रूपमा पहल गर्न नसकेको व्यवसायीहरूको गुनासो छ । पोखरामा पनि विमानस्थल सञ्चालनमा आएदेखि ४ वटा चार्टर्ड फ्लाइट मात्रै भएको छ । अन्तर्राष्ट्रिय उडानको कुनै सङ्केत देखिएको छैन ।