जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व संकलन

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा ५६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ गतेसम्म ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।

बाग्लुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुईवटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व संकलन गरेका हुन्।

मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितका अनुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व संकलन गरेको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीले छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुङले चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुरबाट छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुम्रेबाट चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व संकलन भएको छ।

गोरखा, लमजुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुष्ट चार करोड १० लाख सात हजार एक सय २३ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ। सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व संकलन भएको हो।

आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब २४ करोड र २०७९/८० मा तीन अर्ब १७ करोड राजस्व संकलन गरेका यातायात कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुसार नै राजस्व संकलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख समेत रहेका प्रवक्ता टीकाराम पौडेलले बताए ।