जन्मभुमि खबर ,
पोखरा ।
यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने ।
प्रहरीले बच्चाको उद्धार गरेर आमा खोज्दा कुवेतबाट आएकी एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पठाएको ती युवती घरेलु कामदारको रूपमा कुवेत गएको खुलेको थियो। उनी गर्भवती भएर नेपाल फर्किएको खुलेको छ।
बच्चा र आमा दुवैलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगलको लगिएको छ ।
जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।