जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न अदालतको अल्पकालीन आदेश

जन्मभुमि खबर ,
पोखरा ।

एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । यस रिटमा पनि मङ्सिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ ।

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएको थियो । उसले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।

उच्च अदालत पाटनले संसदको सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन गर्ने् भनेर सूचना निकालेको र प्रधानमन्त्रीले समेत यसबारे अध्ययन गर्न निर्देशन दिएको भन्दै यस विषयमा रिट निवेदक र विपक्षीलाई छलफलमा बोलाउने र त्यतिबेलासम्म खरिद बिक्रीको विषयलाई यथास्थितिमा राख्न भनेको हो ।

उच्च अदालतले शेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्यो समेत लिएर छलफलमा आउनु भनी आदेश दिएको छ ।

हेर्नुहोस् उच्च अदालतको आदेश