जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उत्तरी गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

जन्मभुमि खबर ,
पोखरा ।

उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए । ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ,’ उनले भने, ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ ।’

हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए । हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ ।

साम्दो गाउँ समुद्री सतहबाट तीन हजार पाँच सय ५० मिटर उचाइमा पर्दछ । उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ । त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए ।

हिमपात पर्न सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाईसमेत समस्या भएको छ । मनास्लु क्षेत्रमा पुगेका पर्यटक अहिले होटलमै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को कार्यालयले जनाएको छ ।

हिमपात हुन थालेपछि किसान भने खुसी भएका छन् । हिमपातका भएपछि सुक्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसान खुसी भएका हुन् । लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ । साथै अहिले परेको हिउँले यार्सागुम्बा पनि राम्रो निस्कने साम्दोका व्यवसायी निमादोर्जे लामाले बताए ।