जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अपडेट : आन्दोलनमा गोली लागेका अर्का प्रदर्शनकारीको पनि मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर अर्का घाइते प्रदर्शनकारीको पनि मृत्यु भएको छ ।

बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले जानकारी दिए ।

यसैगरी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक दैलेखका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाको समूहले मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

यसैक्रममा मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जनालाई पक्राउ गरेको एआईजी थापाले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।

जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । कोरियाको रोजगार अनुमति प्रणाली-ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ ।

आवेदनका लागि तोकिएको पाँच दिनमा एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरु –

 

बालकुमारी आन्दाेलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

यातायातमन्त्री ज्वालाकाे गाडीमा आगजनी