जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्तर्दृष्टि पुरस्कारको घोषणा

जन्मभुमि खबर ,
पोखरा ।

अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर आइतबार डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार २०८०’ का निम्ति तीन विधाको पुरस्कार घोषणा गरिएको छ ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा–८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा पुरस्कृत शिक्षक, विद्यार्थी छनोट गरिएको जनाइएको छ ।

‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ विद्यार्थीले छनोट गरेअनुसार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

यस्तै, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ गोरखाको अमरज्योति माध्यमिक विद्यालयकै कक्षा–८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिने जनाइएको छ ।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको नगद राशि २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारबापत १० हजार रुपैयाँ प्रदान गरिनेछ । यी पुरस्कारहरू वसन्तपञ्चमीका दिन प्रदान गरिने जानकारी गराइएको छ ।