जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्मार्ट लाइसेन्स माघ १ गतेदेखि छाप्न सुरु गरिने

जन्मभुमि खबर ,
पोखरा ।

लामो समयदेखि रोकिएको स्मार्ट सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने काम माघ १ गतेदेखि सुरु हुने भएको छ ।

करिब १२ लाख स्मार्ट लाइसेन्स छाप्नका लागि ठेक्का पाएको जर्मन कम्पनी म्युहलबाअरले कार्ड पठाउने भएसँगै स्मार्ट लाइसेन्स छापिने भएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले माघ १ गतेदेखि दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको बताएका छन् ।

पुस ४ गते (डिसेम्बर २० मा) म्युहलबाअरले कार्ड प्याक गरी ढुवानी गर्ने तय भएको छ । त्यसको केही दिनमा कार्ड नेपाल आइपुग्ने र त्यसपछि ‘ल्याब टेस्ट’ गरेर माघ एक गतेदेखि नियमित प्रिन्टिङ सुरु हुने विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापीसक्ने बताएका छन् ।

हाल १२ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ ।

जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा डिसेम्बर २० मा ६ लाख कार्ड पठाउने र त्यसको ४५ दिनपछि थप ६ लाख कार्ड पठाउने तयारी रहेको विभागका महानिर्देशक रिजालले बताए ।

प्रिन्टिङ मेसिन खरिदका लागि चाँडै नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । उक्त प्रिन्टर खरिद गर्न चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमै १० करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।

हाल चालु अवस्थामा रहेको स्मार्ट लाइसेन्स प्रिन्टरबाट दैनिक चार हजारदेखि चार हजार ५०० सम्म कार्ड छाप्न सकिने विभागका निर्देशक ईश्वरीदत्त पनेरुले बताएका छन् ।

हालसम्म विभागले ३४ लाखभन्दा बढी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको छ ।