जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थमन विक हत्याकाण्डः एमाले सांसद कोइरीसहित २ जनालाई सफाइ, ७ जनालाई जन्मकैद

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए।

तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ।

यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्।

जिल्ला अदालत महोत्तरीकी स्रेस्तेदार नूतन झाका अनुसार, उनीहरूबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ।

१९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए।

जिल्ला अदालत महोत्तरीले कोइरीलाई ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार थिए।

प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी थिइन्।