जन्मभुमि खबर ,
पोखरा ।
देवान राई दुई वर्षदेखि जारी रुस–युक्रेन युद्धमा मारिएको खबर आएपछि यता उनको बाटो कुरेर बसेका बुवा–आमा भावशून्य भए ।
यो परिवारको कान्छो छोरा देवान पढ्ने योजना सुनाएर रुस पुगेका थिए। तर, उता गएर रुसी सेनामा भर्ती भए। गत असोज १७ गते देवानले बुवा–आमालाई फोन गरेका थिए।
‘उसले अहिले बसिरहेको क्याम्पबाट १५ दिनका लागि अर्को क्याम्पमा जाने सुनाएको थियो। नयाँ क्याम्पमा फोन र इन्टरनेट नभएकाले १५ दिनपछि सम्पर्कमा आउने बताएको थियो’, देवानका बुवा धनराजले एकै सासमा सुनाए।
धनराजका लागि कान्छो छोरासँगको त्यही संवाद अन्तिम बन्यो। परदेशिएको छोरालाई सम्झँदै धनराजको परिवारले चाडबाड मनायो। दसैँ आयो, गयो। तिहार पनि आएर सकियो। तर, छोराको न फोन आयो न उनी अनलाइनमै देखिए। देवानका परिवार हरेक दिन मोबाइलमा नोटिफिकेसन हेर्दै बसे।
अहिले पनि उनको तस्बिर घरको भित्तामा मुस्कुराइरहेको छ। तर उनी बितेको खबरले परिवारमा सन्नाटा छाएको छ। रुस–युक्रेन युद्धका क्रममा कुनै स्थानमा २६ वर्षीय देवानको प्राणपखेरु उड्यो। यता उनका बुवा–आमाको सपना भताभुंग भयो ।
असोज दोस्रो साताबाटै धनराजको सपना बिग्रिन थालेको थियो। छोराको बाटो हेर्दाहेर्दै आमा गलेकी थिइन्। तर उता रसियामा असोज २२ मै देवानको मृत्यु भइसकेको थियो। बुवाआमा भने मंसिर १ सम्म छोराको फोन पर्खिएर बसे। तर मंसिर लागेकै दिन देवानको मृत्युको खबर आयो ।
अनेक सपना साँचेर परदेश पुगेको छोरो बितेको खबर त आएपछि धनराजलाई पनि विश्वास गर्न कर लाग्यो। तर, उनले अझै सत्य स्वीकार्न सकेका छैनन्। छोरो टुप्लुक्क आउने आशमा धनराज बाटोभरि आँखा बिछ्याएर बस्छन्। आँखाभरि आँसु पार्दै भन्छन्, ‘परराष्ट्र मन्त्रालयको पत्र आएपछि छोरो नरहेको थाहा पाएँ।’
धनराजका दुई छोरा थिए। उनी उदयपुरबाट ३० वर्षअघि पोखरा सरेका हुन्। त्यसपछि उदयपुर फर्किए गएनन्। उनको कर्मथलो पोखरा न्यो, त्यहीँ ज्याला–मजदुरी गरेर बसे, घरजम गरेपछि दुई छोरा हुर्काए।
ज्याला–मजदुरीबाटै पोखरा–१३ कमलपोखरीमा घर बनाए। परिवार सुख–दुःख चलिरहेको थियो। अघिल्लो वर्ष कात्तिकमा उनका कान्छा छोरा विद्यार्थी भिसामा रुस गए। पढ्ने सपना बोकेर रुस पुगेका देवान गत वैशाखमा रुसी सेनामा भर्ती भए।
‘विश्वविद्यालय पढेर कमाइ हुँदैन। रुसी सेनामा राम्रो कमाइ हुने भएकाले भर्ती भएको हुँ। पीर नगर्नु केही हुँदैन’, देवानले बुवाआमालाई आश्वस्त पारेका थिए।
देवान बेलाबेला बुवालाई फोन गरिरहन्थे। रुसी सेनामा तालिम गरिरहेको सुनाउँथे। धनराज छोरालाई सम्झाइरहन्थे, ‘बाबु रुसी सेनामा त खतरा छ भन्छन्, छाडेर फर्की,’ देवान हाँस्दै भन्थे, ‘भनेको मात्रै हो, केही खतरा छैन। मेरा साथीहरु सबै गएका छन्। म उनीहरुसँगै छु।’
फोनमा आफूलाई केही नहुने बताइरहेका छोराको बाटो हेर्दै धनराज पोखरामा बसे। तर छोरो आउने बाटो कुरिरहँदा उनको पुरानो थलो उदयपुरमा मृत्यु भएको पत्र परराष्ट्रले पठाइसकेको थियो।
उता रुसमा राजकुमार मारिए, यता परिवारको सपना भत्कियो
पोखरामा बसोबास गरे पनि धनराजले उदयपुरबाट बसाइँसराइ लगेका छैनन्। छोराको ठेगाना पनि उदयरपुर नै थियो। त्यसैले देवानको मृत्युको पत्र उदयपुर पुग्यो। ‘उदयपुरबाट वडाध्यक्षको फोन आएपछि छाँगाबाट खसेझैं भयौँ’, धनराजले सुनाए।
रुसबाट जिउँदो छोरा त फर्किएन। तर उनको शव भए पनि हेर्न मन छ धनराजलाई। आफन्तले उनलाई परराष्ट्र मन्त्रालयलाई पत्र लेख्न भने।
छोराको शव आएर दाहासंस्कार गर्ने आशमा धनराजले रक्षा र परराष्ट्र मन्त्रालयको दैलो चहारे। कन्सुलर विभागमा पत्र बुझाएर पोखरा फर्किए। ‘त्यसपछि हामीलाई कुनै खबर आएको छैन’, धनराजले गहँभरि आँसु पार्दै सुनाए।
हिजोआज रुसी सेनामा मारिएका नेपालीबारे विभिन्न समाचार आइरहेका छन्। धनराज सबै समाचार हेर्छन्। ‘कतै मृत्यु हुनेमा छोराको नाम झुक्किएर परेको हो कि, अर्को समाचारमा सच्चिएर पो आउँछ कि भन्ने आश लाग्छ’, छोराको मृत्युको खबर उनले यसरी स्वीकार्न सकेका छैनन्।
उनले पनि सुनेका छन् ‘रुस–युक्रेन युद्धमा मारिएकाको शव फर्काउन गाह्रो छ।’ फेरि उनलाई आश लाग्छ, ‘राज्यले राम्रो पहल गरिदिए शव आउँथ्यो कि!’
देवानले १ वर्षपछि आफ्नो रसियन कार्ड बनाएर नेपाल फर्किने बताएका थिए। रुसी सेनामा भर्ती भएपछि बुवा–आमालाई १ महिनाको तलब ३ लाख रुपैयाँ पठाएका थिए।
धनराज दम्पती छोराको खुसी पर्खिंदै थिए, तर आयो- मृत्युको खबर। ‘छोराको खुसी पर्खिएको नियतिले लास आउँछ कि भनेर आश गर्ने बनायो’, धनराजका गला अवरुद्ध भए ।