जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरियाबाट फर्किएर कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी

जन्मभुमि खबर ,
पोखरा ।

पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् ।नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् ।

मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँलेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गरेका छन् ।

स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन् । पुर्ख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो ।

बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला बताउँछिन् । कागती खेतीबाट बर्सेनी उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन् ।

‘कागतीका बिरुवा आफूले हुर्काएपनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ, सिर्जना भन्छिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’

विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु पन्ध्र लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब रु बीस लाख बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो ।

करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलव्ध गराएको थियो ।

आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कूलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन् । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन् ।

पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ । हाल जिल्लामा दुई सय त्रिसठ्ठी हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुई सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार बताउँछन् ।

बिक्रीका लागि समस्या छैन

उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताउँछिन् । उत्पादित कागती पोखरा,चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

प्रतिकिलो रु एक सयदेखि रु एक सय पचाससम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ ।

कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन

कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् ।सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुदैन्, सिर्जना भन्छिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’

सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउदो भएकाले यसैतर्फ आकर्षित भएका हौँ,’ उनी भन्छिन् । कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन् ।

बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आर्कषण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् ।