जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका वडाध्यक्षलाई छुवाछुतको कसुरको आरोपमा साढे ४ महिनाको कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला

जन्मभुमि खबर ,
पोखरा ।

छुवाछुत आरोपित कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे ४ महिना कैद फैसला सुनाएको छ ।

अदालतले यसअघि धरौटीमा छोडेकोमा बिहीबार आज भएको फैसलाले उनलाई ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो । वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई दलित समुदायको भन्दै गएको माघमा दुर्व्यवहार गरेका थिए ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानामा ५० प्रतिशत थप गरेर बिहीबार फैसला सुनाएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जनप्रतिनिधि भएकाले उनलाई ५० प्रतिशत थप सजाय अदालतले तोकेको हो । अधिकारीले पीडित वडा सदस्यलाई १० हजार रुपैयाँ थप क्षतिपूर्ति दिनु पर्नेछ ।

सदस्य नेपालीको जाहेरीपछि वडाध्यक्ष अधिकारी गत वर्ष २६ पुसमा पक्राउ परेका थिए । अदालतले उनलाई गत ९ माघमा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको थियो । १० महिनापछि अन्तिम फैसला सुनाउँदै अदालतले वडाध्यक्ष अधिकारीलाई कैद र जरिवाना तोकेको हो ।

पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।

 

पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी