जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले फुलमेला तथा प्रदर्शनीमा नबिकेका फुलमालाका लागि प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।
स्थानीय उत्पादन प्रबर्द्धन कार्यक्रमअन्तर्गत महानगरले कार्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित मेलामा नबिकेका फुलका लागि प्रोत्साहन रकम दिन लागेको हो ।
प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्य क्षेत्रबाट पनि फुल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फुलमाला बिक्री हुन सकेको थिएन । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानलाई प्रोत्साहनस्वरूप महानगरका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले दिने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, “किसानलाई प्रदर्शनीमा ल्याइसकेको फुलमाला नबिकेका कारण प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।”