जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ ।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु.५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ ।
सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गरेका छन ।