जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश लगातार दोस्रो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती अन्तिम चारमा पुगेको हो। यसअघि बिहीबार बागमतीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ माथि १०९ रनको जित निकालेको थियो।
शुक्रबार पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ६ विकेटको क्षतिमा १८९ रन जोड्यो।
बागमतीका लागि रित गौतमले ८२ रन र इशान पाण्डेले ७० रनको योगदान गरे। बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए भने दिवान पुन र अनुज चनराले १-१ विकेट हात पारे।
१९० रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको कर्णाली १७.३ ओभरमा ९९ रनमै अलआउट भयो। कर्णालीका लागि अर्जुन घर्तीले २४ रन र कप्तान रविन्द्र शाहीले २० रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभरमा ९ रन मात्र खर्चिए।