जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो ।
बाजापार्क पहिलो पटक देखेको र बाजा समेत बजाउन पाउँदा छुट्टै आनन्द आएको पार्कमा पुगेका बगलुङ जिल्लाको काठेखोला वडा नं. ७ वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

गण्डकी प्रदेशस्थित सामुदायिक वन उपभोक्ता महासंघद्धारा आयोजित दुईदिने कानुनी क्षमता अभिवृद्धि तालिममा सहभागी हुन सो क्षेत्रमा पुग्नुभएका लामिछानेले भने, “स्थानीय सरकारका विभिन्न शिर्षकमा जाने बजेटबाट यस्ता मौलिक एवम् पर्यटकीय स्थल निर्माणमा जोड दिनु आवश्यक छ ।”

अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिने सो क्षेत्रसहित नौमती बाजा पार्कको प्रचार प्रसारमा जोड दिनुपर्नेमा उनको सुझाव थियो ।
पार्कमा सुमधुर तथा शुभ सन्देश दिने नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, भ्याली , ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ । यस क्षेत्रमा आएर बास वस्ने पर्यटकले पार्कमा रहेको बाजा बजाएर रमाउने गरेको स्थानीय नन्दलाल अधिकारीले जानकारी दिए ।
अस्तामस्थित मिस्टिक हाइल्याण्ड रिसोर्टका सञ्चालकसमेत रहनुभएका उहाँका अनुसार नौ वाद्यवादक कलाकारहरुले सुर र तालका साथै एकैचोटी बजाउने गरिएकाले यो सामूहिक बाजालाई नौमती बाजा भनिएको हो । विशेषगरी आलुमिनियम, तामा, पित्तललगायत धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ ।

नेपालीको मौलिक पहिचान बनेको नौमती बाजाका लागि पोखरा र आसपासमा ख्याति कमाएको अस्तामको बाजा चिरस्थायी राख्ने लक्ष्यका साथ पार्क निर्माण गरिएको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिता परिचालन एवम् माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा रु १६ लाखको लागतमा निर्माण गरिएको पार्क चार बर्ष अघिदेखि सञ्चालनमा आएको हो ।

पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डबाट करिव छ मिलोमिरको दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि कुनै पनि टिकट लाग्दैन । सो स्थानसम्म पुग्नका लागि संङ्घीय सरकारको रु २५ करोडको लगानीमा मोटर बाटो स्तरोन्नति गरिरहेको छ ।