जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली कप टी–२० : त्रिभुवन आर्मी क्लबद्वारा मदन भण्डारी स्पोर्टस् क्लब पराजित

जन्मभुमि खबर ,
पोखरा ।

आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी निलोलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगितामा सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

सोमबार भएको समूह डी को पहिलो खेलमा आर्मीले आयोजक निलोमाथि १ सय १० रनको फराकिलो जित निकालेको हो।

आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको आयोजक निलोले १५.४ ओभरमा ८५ रन बनाउँदा अलआउट भयो।

आयोजक निलोका लागि कप्तान निर्विक पाठकले बनाएको २८ रन नै सर्वाधिक रह्यो। २३ बलमा ५ चौका र १ छक्का हानेका निर्विक रन आउट भए।

रणविर यादव १६ रनमा एलबीडब्लु धरापमा परे। ओपनर रोनिम तिवारीले १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आयोजक निलोलाई कम स्कोरमा रोक्न कुशल मल्लले ३ विकेट लिए। सहाव आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिए। रोहित पौडेल र विवेक यादवले समान एक् विकेट आफ्नो नाममा गरे।

त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा मदन भण्डारी स्पोर्टस् एकेडेमी निलोले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रनको योगफल तयार पारेको थियो।

आर्मीका लागि ओपनर सन्तोष कार्कीले ४१ रनको योगदान दिए। कप्तान विनोद भण्डारी ३८ रनका क्याच आउट भए। विवेक यादव २९ र भिम सार्की ६ रनमा नटआउट रहे।

कुशल मल्लले २५ र बसिर अहमदले २३ रन थपे। सन्दीप रजाली ६ रनमा रन आउट भए।

आयोजक निलोका मेहुल श्रेष्ठले २ विकेट लिए। कौशल रुपाखेती, शुभम खाती र धवन सहानीले समान १ विकेट आफ्नो नाममा गरे।