जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् ।

उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज/अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’

प्रहरीले यस्ता ठगीका सम्बन्धमा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ ।

पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।