जन्मभुमि खबर ,
पोखरा ।
इजरायलसँगको सहमतिपछि हमासले २४ जना बन्दीलाई रिहा गरेको छ । उनीहरूमध्ये १३ जना इजरायली, १० जना थाई र एकजना फिलिपिन्सका नागरिक रहेको मध्यस्थकर्ताको भूमिकामा रहेको कतारको विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।
सुरुमा थाइल्यान्ड र इजिप्टले १२ जना थाई नागरिक रिहा भएको बताएका थिए ।
हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो । रेडक्रसले उनीहरूलाई इजिप्टको बाटो हुँदै इजरायल ल्याएको हो ।
यता इजरायलले बालबालिका र महिलासहित ३९ जना प्यालेस्टाइनी नागरिकलाई रिहा गरेको छ ।
बीबीसीका अनुसार हमासबाट रिहा भएका थाइल्यान्डका सबै नागरिक पुरुष हुन् । उनीहरूलाई ४८ घण्टासम्म मेडिकल सुविधा दिइने छ ।
अल्जजिराका अनुसार हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुन सक्ने विश्वास गरिएको छ । अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।
कतार र इजिप्टको मध्यस्थतामा हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने जनाइएको छ । इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ ।
बाँकी रहेका अरू बन्दीलाई विभिन्न चरणमा छाडिने जनाइएको छ । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार उनी पनि हमासकै नियन्त्रणमा रहेका छन् । तर, उनी पहिलो चरणमा छुटेनन् ।
नेपालले उनलाई छुटाउन पहल गरिरहेको छ । बिहीबार नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीसँग नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो ।