जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाका प्रकाश ढकाल कृष्णभीरमा मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली नदी किनारमा मृत फेला परेका छन् । उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन ।

२ दिनदेखि सम्पर्कविहीन उनी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा आइतबार राति ९ बजे मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अभय लामाले पनि कृष्णभीरमा अन्दाजी ३५/४० वर्षका एक पुरुषको शव फेला परेको बताए । उनी भन्छन्, ‘राति भएको र आफन्त नआइसकेकोले सनाखत हुन बाँकी छ ।’

वारदातस्थलअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले शव भेटिएको स्थान निकै अप्ठेरो रहेको बताउँछन् । छिमेकी गोरखा जिल्लातिरबाट त्रिशूलीमा डुंगा चढेरमात्र आउन सकिने उनले बताए । ‘राति भएकोले शवको फोटोमात्र खिचिएको छ । यसअघि पनि तीन–चार जना हराएको सूचना छ। तर फोटोको आधारमा केहीले पुष्टी गरे पनि परिवार तथा आफन्तले सनाखत नगरेसम्म भन्न मिल्दैन,’ उनी भन्छन् ।

पत्रकार कमल सरगमले शव ढकालकै भएको पुष्टी गरे ।

रहस्यमय ढंगले ढकालको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । सरगमका अनुसार ढकाल निकै स्पष्टवक्ता तथा मिलनसार थिए ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा ७, साखर घर भएका ढकाल केही समय दुवई पनि बसेका थिए । पछिल्लो समय हेर्ने कुरा डटकममा र लालीगुरास डटकममा आबद्ध थिए । उनी नेपाली कांग्रेसनिकट थिए । केही म्यूजिक भिडियोमा उनले अभिनय गरेका छन्।