जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानव सेवा आश्रमलाई एभरेस्ट एफएमको थप १ लाख हस्तान्तरण , पौडेल भए स्टाफ अफ द इयर

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट प्रसारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख १ रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम’ कक्ष निर्माणका लागि थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको तेस्रो वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीश पुनलाई रकम हस्तान्तरण गरेकी हुन् ।

अघिल्लो वर्ष एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुरुप एफएमले दोस्रो वार्षिकोत्सवको अवसरमा अघिल्लो वर्ष पहिलो किस्ता स्वरुप १ लाख १ रुपैयाँ नै प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको दोस्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,’ उनले भने, ‘अघिल्लो वर्ष पहिलो किस्ता बुझाएका थियौं । यो दोस्रो किस्ता हो भने बाँकी आगामी ३ वर्ष निरन्तर प्रदान गर्छौं ।’

एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताइन् ।

यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो । प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।

यसैबीच, एफएमले तेस्रो वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बुबाहरुलाई विहानको खानापनि खुवाएको छ । आश्रममै पकाएर आश्रित १०७ जना बुबाहरुलाई खाना खुवाएको र त्यसमा लागेको खर्च एफएमले व्यहोरेको सम्पादक श्रेष्ठले जानकारी दिए ।

पौडेललाइ स्टाफ अफ दि इयर

एभरेस्ट एफएमको ‘बेीट स्टाफ अफ दी ईयर’बाट समाचार वाचक शशि पौडेल पुरस्कृत भएका छन् । एफएमले वर्षभर काम गरेको आधारमा छनोट गर्ने स्टाफ अफ दी इयरबाट पौडेल पुरस्कृत भएका हुन् । एफएमको तेस्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पौडेललाई नगद १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु हरि शर्मा गैह्रे, कृष्णप्रसाद न्यौपाने, विमलमान गुभाजु, भोलाकुमार श्रेष्ठलगायतले सम्मान गरेका थिए । यसअघि दोस्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ बेस्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।