जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली कप क्रिकेट : कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । पोखरा रंगशालामा आइतबार खेलिएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हरायो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशको टोली भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय १८ रनमात्र बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको मधेस प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बने । रुपेश सिंहवाहेक मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आठौँ नम्बरका ब्याट्सम्यान रुपेशले टोलीको खातामा सर्वाधिक ४० रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर साह चार रन बनाउँदै आउट भए । अर्का ओपनर अनिल साह त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान इमरान शेखले केही सम्हालिएर खेल्दै २१ बलमा एक छक्का र एक चौकाको मद्दतले २२ रन बनाएका थिए ।

पवन सर्राफ दुई रनमै आउट भए भने हिमांशु दत्तले खातासम्म खोल्न सकेनन् । रोहन वीकले टोलीको खातामा १० रन थपे । विशाल सुसलिङले चार रन बनाए । राकेश कामतले १० रन जोडे । विशाल पटेलले अविजित सात रन र प्रदीप पासवानले ६ रन बनाए ।

पुलिस क्लबका बलर रसिद खान, ललित राजवंशी, करण केसी र सागर ढकालले दुई—दुई विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले पनि एक—एक विकेट हात पारे । मधेस प्रदेशको टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो ।

त्यसअघि पुलिस क्लबका लागि कुशल भुर्तेलले सतकीय पाली खेलेका थिए । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो । आक्रामक रुपमा प्रस्तुत भएका भुर्तेलले केवल ५७ बलमा सात छक्का र आठ चौकाको मद्दतले टोलीको खातामा एक सय दुई रन थपे ।

ओपनर ब्याट्सम्यान भुर्तेलले ५६ बलमा शतक पुरा गरेका थिए । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका विशाल सुसलिङ आफ्नो बलिङमा आफैले क्याच गरेका थिए ।

१६औँ ओभरको अन्तिम बलमा पेभेलियन फर्किनुअघि भुर्तेल र सुनिल धमलाले पुलिस क्लबका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए । अर्का ओपनर सुनिल धमलाले टोलीको खातामा ४५ रनको योगदान गरे ।

धमलाले लामो समय क्रिजमा टिकेर ४७ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनी तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका बलर विशाल पटेलले विकेटकिपर अनिल साहद्वारा क्याच गराएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान रसिद खान भने पाँच रनमा तीन रन बनाउँदै आउट भए । रसिदको विकेट पनि विशाल सुसलिङले नै लिएका थिए । विशालले उनलाई राकेश कामतद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ तीन बलमा एक रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यानलाई दिलिपलाई विशाल पटेलले बोल्ड गरेका थिए ।

अर्जुन साउद दुई बलमा एक रन बनाउँदै आउट भए । उनलाई रुपेश सिंहले बोल्ड गरेका थिए । करण केसीले अविजित १६ रन बनाए । उनले पाँच बलमा एक छक्का र दुई चौका पनि हिर्काए । कप्तान आरिफ शेख एक बलमा ६ रन बनाउँदै अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो ।